काठमाडौं - कोरोना भाइरसका कारण संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका अहिले सबैभन्दा बढी प्रभावित छ । ३२ करोड जनसंख्या रहेको अमेरिकामा ५.३ लाख जनसंख्यामा कोरोना संक्रमण भेटिइसकेको छ । त्यहाँ २० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यो अमेरिकी इतिहासमा १०० वर्षको इतिहासमा सबैभन्दा त्रासदीपूर्ण समय बनेको छ । यहाँका चिकित्सकहरु पनि यति आतंकित छन् कि आफूहरु परमाणु बममाथि उभिएजस्तो लागिरहेको बताएका छन् ।

यस्तो अवस्था सिर्जना हुनुका पछाडि अमेरिकाको नेतृत्व गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको कमजोरीको रुपमा लिन थालिएको छ ।अमेरिकी सञ्चार माध्यममा प्रकाशित रिपोर्टहरुका अनुसार त्यहाँ सरकारका विभिन्न निकायहरुले संभावित खतराबारे अलर्ट गरिसकेका थिए । तर, ट्रम्पले त्यसबारेमा समयमै ध्यान दिन नसक्दा अहिलेको अवस्था सिर्जना भएको हो ।

जनवरीमा डिपार्टमेन्ट अफ वेटरन्स अफेयर्सका एक वरिष्ठ स्वास्थ्य सल्लाहकार डा कार्टर मर्चरले सावधानीको घन्टी बजाउँदै चिठी लेखेका थिए ।

उनले भनेका थिए, यदि तपाईंले यसलाई सामान्य बनाउनुहुन्छ भने नतिजा नराम्रो हुनेछ । कोरोनासँग लड्ने परियोजनाको आकारमाथि भरोसा गर्न कठिन छ ।’ उनले यो पत्र २८ जनवरीमा कर्मचारीलाई पठाएका थिए । जतिबेला अमेरकिामा कोरोनाको पहिलो संक्रमण भेटिइसकेको थियो । तर ट्रम्पले निर्णय लिन ६ हप्ताको समय लगाए । जतिबेलासम्म कोरोना भयंकर आकारमा फैलिइसकेको थियो ।

न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार देशका स्वास्थ्यकर्मीहरुले हारगुहार गर्दा पनि ट्रम्पले वास्ता गरेनन् । उनीहरुले यो रोगले अमेरिकामा लाखौंको ज्यान लान सक्ने भन्दा पनि ट्रम्पले सुनेनन् । उनीहरुले स्कूल, क्याम्पस र विश्वविद्यालय बन्द गर्न भनिरहेका थिए ।

ट्रम्पले जनवरीमा यी सबै आवाज नसुनेर कोरोनालाई सामान्य समस्याको रुपमा चित्रित गरे । ह्वाइट हाउसकै विशेषज्ञ सल्लाहकारदेखि लिएर जासुसी संयन्त्रले दिएको रिपोर्ट पनि सुनेनन् ।

ट्र्म्पका विरोधीहरुले ट्रम्पले समस्याको किसिम थाहा पाउन सकेनन् । ट्रम्पले यसबीचमा गरेको राम्रो काम भनेको केवल जनवरीदेखि चीनसँगको यात्रा प्रतिबन्ध भने हो ।

सुरुमा व्यापारिक सम्बन्ध नबिग्रियोस् भनेर अमेरिकी प्रशासनबीच फरक मत थियो । तर ट्रम्पको अभिव्यक्तिका कारण चीनसँग अमेरिकाको सम्बन्ध अहिले थप चिसिइसकेको छ ।

ट्रम्पले आफ्नै सल्लाहकारको कुरा पनि नसुनेको/नबुझेको बताइएको छ । जनवरी २९ मा ट्रम्पका व्यापारिक सल्लाहकार पिटर नैवारले सम्भावित खतरालाई लिएर भनिसकेका थिए कि कोरोनाका कारण देशमा ५ लाखभन्दा बढी मानिसको मृत्यू हुनसक्छ । उनले यसबाट अर्थतन्त्रमा कयौं ट्रिलियन डलरको नोक्सान हुनसक्ने बताएका थिए ।