‘बादल’ले दोस्रो पटक प्रचण्डको साथ छोडे
काठमाडौं - गृहमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पुनः प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन् । प्रतिनिधि सभा विघटनपछि नेकपाका नेता कार्यकर्ताले कित्ता परिवर्तन गर्दा केही दिन मौन बसेका बादलले पुनः ओलीलाई साथ दिएका हुन् ।
बादलनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधबार राति सामाजिक संजालमा गरेको पोस्टले उनी ओली निकटमा पुगेको पुष्टि गर्न गाह्रो पर्दैन । ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईको प्रगति होस्’ नेता खरेलले लेखेका छन् । तर, बादलको सचिवालयले यसलाई अहिलेसम्म पुष्टि नगरे पनि ओलीसँगको निरन्तर भेटले उनी त्यतै लागेको प्रष्ट भइसकेको प्रचण्ड–नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने ।
नेकपाका दुई पक्षले औपचारिक रुपमा भिन्दाभिन्दै बैठक गरिरहेको बेला बादलले भने दुवै पक्षसँग पदको ‘बार्गेनिङ’ गरेको चर्चा पनि छ । उनले आफूलाई जता फाइदा हुन्छ त्यतै जाने गरि यी दिनहरुमा बार्गेनिङ गरेको स्रोतको भनाई छ । सोही अनुसार बादललाई ओली पक्षले ‘सेकेन्ड म्यान’को जिम्मेवारी दिएकोले उनी उतै लागेको बुझिएको छ । प्रचण्ड–नेपाल पक्षका ७ मन्त्रीहरुले सामुहिक राजीनामा दिँदा पनि मौन बसेका बादल यसबीचमा कुनै पक्षको बैठकमा पनि सामेल भएनन् । तर, उनले निरन्तर रुपमा आफू पक्षसहित ओली तथा प्रचण्ड पक्षका नेतासँग भेट गरिरहे । अन्ततः ओली पक्षमा लाग्दा आफूलाई बढी फाइदा हुने देखेपछि त्यतै लागेको स्रोतको भनाई छ ।
बादल निकटका स्थायी कमिटी सदस्यहरु देवप्रसाद गुरुङ र पम्फा भुसाल भने प्रचण्ड पक्षमा लागिसकेका छन् । उनीहरुले बादललाई भेटेर ओलीलाई साथ दिन नहुने बताए पनि बादलले आफूले सोचेर निर्णय लिने बताएका थिए । बादलनिकटका २४ केन्द्रीय सदस्यमध्ये २३ जनाले ओलीसँग नमिल्न सुझाव दिएका थिए । बादललाई साथ दिन सूर्यप्रकाश सुवेदीले मात्रै ओलीसँगै रहन सुझाव दिएका थिए ।
लामो समय प्रचण्डसँगै राजनीति गर्दै आएका बादलले उनलाई छोडेको यो दोस्रो पटक हो । यसअघि पनि बादलले प्रचण्डको साथ छोडेका थिए । बादल २०६९ मा पार्टी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको माओवादीमा सामेल भएका थिए । ४ वर्षपछि उनी पुनः प्रचण्ड नेतृत्वको पार्टीमा नै फर्किएका थिए । त्यसपछि प्रचण्डले विश्वास गरेर उनलाई नेकपाको सचिवालय सदस्य बनाएका थिए भने त्यसपछि बनेको मन्त्रिपरिषद्मा उनलाई गृहमन्त्रीको रुपमा पनि पठाएका थिए । प्रतिनिधि सभा विघटनपछि भएको ‘नेकपा फुट’मा उनी पुनः प्रचण्डको साथ छोडेर ओली खेममा पुगेका हुन् ।
बादलसँगै पूर्व माओवादीका खेमाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा पनि ओली पक्षमा लागिसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस