काठमाडौं - सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेपछि अनुसन्धानको लागि म्याद थप भएको छ।

महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप भएको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार बिहान विशेष सूचनाको आधारमा बालाजुबाट पक्राउ परेकी आफूलाई धार्तीमाता बताउने विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थपिएको हो । उनले भने,‘ जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुसन्धानको लागि म्याद गराइएको हो।’

कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ। प्रहरीले यही प्रावधानलाई टेकेर खोजबिन र अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बोगटीको भनाइ छ।