स्वास्थ्य मन्त्रालय र अस्पतालभित्रका कर्मचारीले बद्नाम गरेको भन्दै फेसबकुमा ‘अलविदा’ लेखेर डाक्टर बेपत्ता
काठमाडौं - रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टमा कार्यरत डा. केशव श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका छन्।
झण्डै दुई घण्टा अगाडि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर उनी सम्पर्कविहीन भएका हुन्। उनले आफ्नो मोबाइल पनि बन्द गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले डा. श्रेष्ठको खोजी कार्य भइरहेको बताएका छन् । फेसबुकमा लामो स्टाटस देखेपछि आफूहरूले काठमाडौं प्रहरीलाई खबर गरेको उनले बताए।
उनका अनुसार डा. श्रेष्ठ सरुवा भएर गत शुक्रबार काठमाडौं आएका छन्। श्रेष्ठको घर काठमाडौं चाबाहिलस्थित गोपीकृष्णमा रहेको छ । उनको परिवारलाई सम्पर्क गर्न खोज्दा फोन नउठेको रामेछाप प्रहरीले जनाएको छ।
डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेको र आफूलाई झुटो आरोप लगाइएको बताएका छन्। साथै आफ्नो सरुवा आर्थिक चलखेलमा गरिएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।
उनी रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा थिए । उनले २५ महिना अस्पतालमा काम गरेको र त्यसमध्ये १८ महिना निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा अस्पताल सुधार्न खोजेपनि राजनीतिक दबाब र धम्की आएको बताएका छन् ।
उनले रामेछाप–८ का पूर्व वडाध्यक्ष केदार कार्कीले अनुचित दबाब र धम्की दिने गरेकोलगायत आरोप समेत लगाएका छन्।
उनी असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडा सरुवा भएका थिए।
श्रेष्ठले लेखेको लामो स्ट्याटसमा आफू डाक्टर बन्ने सङ्घर्षदेखि अस्पताल व्यवस्थापनमा देखिएको प्रतिरोध, भ्रष्ट अभ्यासविरुद्धको प्रयास र त्यसबापत आफूले भोगेको अन्यायबारे पीडा पोखेका छन्।
स्वास्थ्य मन्त्रालय, केही नेतहरू र अस्पतालभित्रका कर्मचारीको मिलेमतोमा आफूलाई बदनाम र मानसिक रूपमा तनाव दिने प्रयास गरेको उनले लेखेका छन्।
फेसबुक स्ट्याटसमा उनले आफ्नी आमा, श्रीमती र छोरीसँग माफी समेत मागेका छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस