काठमाडौं - निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति घोषणा भइसकेपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनै हालतमा नरोकिने स्पष्ट पारे। 'निर्वाचनको विकल्प निर्वाचन नै हो,' उनले जोड दिए।भण्डारीले केही कुण्ठित तत्त्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउँदै भने,'केही कुण्ठित तत्त्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन्। २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ।'

उनका अनुसार आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो सम्हाल्ने भए पनि स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरण निर्माणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ।

मतदातालाई सुसूचित गराउने, तथ्यमा आधारित सूचना प्रवाह गर्ने र निर्वाचनको निष्ठा जोगाउने दायित्व सञ्चार क्षेत्रको काँधमा रहेको उनले उल्लेख गरे।

भण्डारीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै निर्वाचनको निष्ठामा खलल नपुर्‍याउन सबै पक्षसँग आग्रह गरे।