काठमाडौं - भिजिट भिसा प्रकरणमा नाम जोडिएका आफ्नै पार्टीका गृहमन्त्रीको बारेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुख खोलेका छन् ।

लेखकले राजीनामा दिनुपर्ने माग राखेका पार्टीका केही सांसदहरुलाई स्पष्टिकरण सोध्नुपर्ने आवाज उठिरहेका बेला महामन्त्री थापाले गृहमन्त्रीको बारेमा बोलेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने थापाको धारणा छ ।

नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भिजिट भिसाका नाममा भइरहेको भ्रष्टाचारको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए । अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभएको भन्दै उनले भने–‘राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्नु पर्छ ।’

गृहमन्त्री लेखकले राजीनामा दिएर अनसन्धानमा सहयोग पुरयाउनु हुन्छ भन्नेमा विश्वास रहेको उनले बताए । यसअघि कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले राजिनामा दिनुपर्छ भनेका नेतत्रय डा. शेखर कोइराल, सुनिल पौडेल र राजेन्द्र बजगाईंलाई स्पष्टिकरण सोध्नुपर्ने माग गरिएको थियो ।