काठमाडौं - पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् । उनले पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन पुस्तक व्यवसायी महासंघमार्फत सहकार्य गर्न प्रस्ताव समेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै मेयर आचार्यले पुनलाई निर्वाचनमा अत्यधिक मतसहित विजयी भएकोमा बधाई दिँदै उनको नवप्रवर्तन र अनुसन्धान अभियानप्रति सम्मान व्यक्त गरेका छन् ।

आचार्यले पुनले अनुसन्धान र नवप्रवर्तनका लागि देशभर घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहेको कार्य सराहनीय भएको उल्लेख गरेका छन् । तर आवश्यक दर्ता वा अनुमति बिना सार्वजनिक स्थानमा पुस्तक बिक्री–वितरण गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने उनले बताएका छन् ।