काठमाडौं,दैलेख-दैलेखको भैरवी गाउँपालिका–६ स्थित हमाल टोलमा जग्गा विवादका कारण एक व्यक्तिको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी रामबहादुर हमालको हत्या गरिएको हो ।

सोही घटनामा संलग्न रहेको आरोपमा एकै घरका ४२ वर्षीय कुलबहादुर सिंह, उनकी श्रीमती ३८ वर्षीया मनिषा सिंह र छोरा २२ वर्षीय सुरेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बहादुर बरालका अनुसार बुधबार राति रामबहादुर हमाल र सिंह परिवारबीच जग्गा सम्बन्धी विवादका कारण भनाभन र कुटपिट भएको थियो ।

कुटपिटका क्रममा गम्भीर घाइते भएका रामबहादुरको कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

घटनापछि खटिएको प्रहरी टोलीले तीनै आरोपितलाई नियन्त्रणमा लिएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका प्रमुख अभियुक्त कुलबहादुर सिंहको आपराधिक पृष्ठभूमि पनि खुलेको छ ।

उनी १६ वर्षअघि हुलाकीको हत्या अभियोगमा दोषी ठहर भई २० वर्षको जन्मकैद सजाय सुनाइएका थिए । आधा सजाय माफी पाएपछि दुई वर्षअघि मात्र उनी जेलमुक्त भएका थिए ।