माओवादी महाधिवेशनः आज विधान मस्यौदामाथि उठेका प्रश्नकाे जवाफ देव गुरुङले दिने
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् ।
शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।
माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेटन लागिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।
विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस