काठमाडौं-नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

मंगलबार सर्वोच्च अदालतमा पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दर्ता गरेका हुन् ।

गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसी तोकेको छ । गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित पौडेलको नियुक्ति बदर गर्न माग गरिएको छ ।

उक्त रिटमाथि यसअघि दायर ६५ वर्षे उमेरहद संशोधन नगर्न मागसहितको रिटमा लगाउमा राखेर बुधबार सुनुवाइ हुने बताइएको छ । गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिटमा नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको मागसहित चारवटा मागदाबी गरिएको छ । रिटमा पौडेललाई गभर्नर सिफारिस र नियुक्ति गर्ने कार्य गैरकानूूनी भएको दावी गरिएको छ ।

गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेललाई म्याच फिक्सिङको शैलीमा नियुक्तिको तय गरी सिफारिस समितिबाट राजीनामा गर्न लगाई नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाएको दावी पनि रिटमा गरिएको छ ।