काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेको विषयमा कडा असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले उक्त नियुक्ति “१०० प्रतिशत गलत” भएको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि श्रेष्ठलाई उक्त पद स्वीकार नगर्न आग्रहसमेत गरेका छन्।

'प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो,' पुनले लेखेका छन्, 'आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाका खातिर त्यो पद नलिऊ। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाइदेऊ।'

पुनले सानो स्वार्थका कारण प्रधानमन्त्रीले कमाएको प्रतिष्ठा धुलोमा नमिलाउन आग्रह गर्दै नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीवादकै कारण पुराना दलहरू कमजोर बनेको उल्लेख गरेका छन्।

उनका अनुसार यस्तै प्रवृत्ति दोहोरिँदै जाने हो भने नयाँ राजनीतिक शक्तिहरू पनि भविष्यमा कमजोर हुँदै जाने खतरा रहन्छ।

'यस्तै किसिमको नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीवादले पुराना दलहरू खतम भए। यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्,' उनले भनेका छन्।