नेपालमा थपिए एकैपटक ५३८ कोरोना संक्रमित, संक्रमितको संख्या १० हजार ९९ पुग्यो
काठमाडौं - नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,०९९ पुगेको छ। तीमध्ये २४ जनाको मृत्यु भएको छ भने २,२२४ जना निको भएका छन्।
विगत २४ घण्टामा ७६ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा मृत्यु हुने २४औँ व्यक्ति दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ निवासी ४५ वर्षीय पुरुष रहेको डा. गौतमले बताए।
ती व्यक्तिको असार ८ गते राति ९:३० बजे मृत्यु भएको हो। क्षयरोग र दमको बिरामी रहेका उनी प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत रहेको डा. गौतमले जनाए।
दुल्लु अस्पतालबाट असार ३ गते सुर्खेत ल्याइएका उनको सोही दिन स्वाब सङ्कलन गरिएको र भोलिपल्ट सङ्क्रमण पुष्टि भएको थियो।
फेसबुक पेज Like गर्नुहोस