काठमाडौं, एजेन्सी - अमेरिकामा १५ वर्षको उमेरदेखि आजीवन कारावासको सजाय पाएका एक नागरिक ११ फेब्रुअरीमा जेलबाट रिहा भएका छन् ।

जोसेफ लिगन नामक व्यक्तिमाथि सन् १९५३ मा दुई व्यक्तिको हत्या गरेको आरोप पुष्टि भएको थियो । दोषी पाइएपछि उनलाई आजीवनक कारावासको सजाय तोकिएको थियो ।

झन्डै सात दशक जेलमा बिताएका उनको जीवन अब पक्कै पनि सहज हुनेछैन । जेलबाट बाहिर निस्किएका उनी शहरका अग्ल भवनहरू देखेर चकित परे । १५ वर्षको उमेरमा जेल गएको केटो अहिले ८३ वर्षका वृद्ध भएका थिए ।

लिगन १५ वर्षको हुदाँ उनी लुटपाटको घटनामा संलग्न थिए, लुटपाटकै क्रममा उनले दुई व्यक्तिको हत्या गरेको अभियोग लगाइएको थियो, जसमा उनी दोषी ठहरिए । उनले आफ्नो जीवनको ६८ वर्ष जेलमा बिताएका छन् ।

जेलबाट छुटेपछि परिवार भेट्न गएका उनका अधिकांश आफन्तहरुको मृत्यु भइसकेको थियो । उनले चिन्ने अनुहारहरु परिवारमा एकदमै कम मात्र थिए ।

जेलमा परेको ६८ वर्षपछि उनलाई वकिलले जेलबाट निकाल्न सफल भएका छन् । वकिलले लिगनको आजीवन कारावासलाई असंवैधानिक पुष्टि गरेपछि उनी जेलमुक्त भएका हुन् ।