काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीभित्रको समस्यामा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताको विरोध गरेका छन् ।

शुक्रबार बिहान एक ट्वीट गर्दै नेता रावलले नेकपाको आन्तरिक समस्यामा राष्ट्रपति भण्डारीले एक पक्षलाई साथ दिएर पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा गरेको उनको ठहर गरेका छन् ।

रावलले ट्वीटमा भनेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ। यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’नेकपा भित्रको विवादमा अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेको केपी शर्मा ओलीलाई साथ दिनको लागि राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम तथा गृहमन्त्री रामबहादुर थापालाई शीतल निवास बोलाएर आग्रह गरेका थिए । 

राजनीतिमा राष्ट्रपति संलग्न भएको भन्दै उक्त कार्यशैलीको विरोध हुन थालेको छ ।