आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता: आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं-आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार १२ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकामाथि सानदार जित हात पारेको थियो । वेस्ट इन्डिजलाई पराजित गर्दै नेपाल दोस्रो जित हात पार्ने रणनीतिमा रहेको छ ।
दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । उता वेस्ट इन्डिज नेपालमाथि जित हात पार्दै सुपर सिक्सको सम्भावना बलियो बनाउने रणनीतिमा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।
फेसबुक पेज Like गर्नुहोस