काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो तीन सातामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

संक्रमणका हिसाबले अक्टोबर महिना सबैभन्दा खराब रहेको जनाइएको छ । पछिल्ला केही दिनमा अमेरिकामा दैनिक सवा लाखको हाराहारीमा संक्रमित थपिएका छन् । पछिल्ला दिनमा युरोपेली मुलुकमा पनि संक्रमणको दर निकै बढेको छ ।

पछिल्ला सात दिनमा विश्वभर दैनिक रूपमा ५ लाख ४० हजारभन्दा बढी व्यक्तिमा भाइरसको संक्रमण पुष्टि भइरहेको छ । संक्रमितको संख्या ३ करोडबाट ४ करोड पुग्न ३२ दिन लागेकामा पछिल्लो समय २१ दिनमै थप १ करोडमा कोरोना पुष्टि भएको हो ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर भाइरस संक्रमितको संख्या ५ करोड ५ लाख ४० हजार नाघिसकेको छ । भाइरसले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५८ हजार ३ सय पुगेको छ । करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका जनाइएको छ ।