काठमाडौं - सीमा सहजीकरण, सूचना संकलन तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरेको छ।

साउन १० गतेदेखि झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगर नाकामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा प्रत्येक नाकामा १४ सदस्यीय टोली परिचालन गरिएको हो।

टोली सम्बन्धित सीमा सुरक्षा गुल्ममा बसेर मुख्य नाकाहरूमा खटिनेछ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डन्डास्थित सीमा सुरक्षा गुल्ममा पुगेर टोलीको औपचारिक शुभारम्भ गर्दै आवश्यक निर्देशन दिएका छन्। उनले सीमा क्षेत्रको सुरक्षा अवस्था र दैनिक गतिविधिबारे समेत जानकारी लिएका थिए।

सशस्त्र प्रहरीका अनुसार बीआईटीले सीमा वारपार गर्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सहजीकरण गर्नुका साथै मानव बेचबिखन नियन्त्रण, लागूऔषध तथा वन्यजन्तुजन्य वस्तुको अवैध ओसारपसार रोक्न निगरानी र चेकजाँचमा विशेष ध्यान दिनेछ।

साथै अन्य सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय गरी सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणमा समेत भूमिका खेल्ने विश्वास गरिएको छ।

उक्त टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म प्रत्येक सिफ्टमा कम्तीमा एक महिला सशस्त्र प्रहरीसहित सादा पोसाक (सफारी सुट) मा परिचालन हुनेछ। 

यसैगरी आइतबार अन्य पाँचवटै मुख्य सीमा नाकामा पनि सम्बन्धित बाहिनीपतिहरूले टोली परिचालनको शुभारम्भ गरेका छन्।