काठमाडौं, एजेन्सी - भारतका अधिकांश राज्यमा भोलीबाट हल खुल्दैछन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउँदै गर्दा कुन चलचित्र रिलिज हुन्छन् भन्ने पनि चर्चा चलिरहेको छ । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु पुरानै फिल्म रि-रिलिज गर्न बाध्य भएका छन् ।

ट्रेड एनालिस्ट तरण आदर्शले बिहीवारबाट सिनेमा हलमा रि-रिलिज हुने फिल्मको जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘यो हप्ताबाट सिनेमा हल खुल्दैछ । ६ हिन्दी फिल्म यो हप्ता रि-रिलिजका लागि घोषणा गरिएको छ । यसमा ‘तन्हाजी, वार, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड र केदारनाथ’ सामेल छन् । आगामी दिनका लागि अरु फिल्म तयारी गरिँदैछ ।

यी फिल्ममध्ये स्वर्गीय सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘केदारनाथ’ २०१८ मा रिलिज भएको थियो । सुशान्तका प्रशंसकलाई ट्रीट दिनका लागि निर्माण टिमले फिल्मलाई रि-रिलिज गर्न लागेको हो । अभिषेक कपूरले निर्देशन गरेको फिल्ममा सुशान्तले अभिनेत्री सारा अली खानसँग रोमान्स गरेका थिए । यो रोमान्टिक स्टोरी दर्शकले निकै रुचाएका थिए । फिल्म सुपरहिट भएको थियो ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले मार्चबाट सिनेमा हल बन्द गर्ने घोषणा गरेको थियो । जसका कारण कयौं ठूला फिल्म प्रदर्शनमा आउन सकेनन् । कति फिल्म हल खुल्ने टुंगो नहुँदा ओटीटी प्लेटफर्ममा रिलिज भए । त्यस्तै फ्रेस रिलिजका रुपमा चलचित्र ‘८३’ क्रिसमसमा रिलिज हुनेछ । भने चलचित्र ‘सूर्यवंशी’ जनवरीदेखि मार्च महिना भित्र कुनै पनि दिनबाट चलाउने तयारी निर्माताले गरेका छन् ।