काठमाडौं - धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुर्घटनामा घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ। अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिए।