काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गरेको बताएका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमा वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमण गरेर आफू चरम व्यक्तिवादी, गुटवादी सावित गरेको उल्लेख गरेका हुन् ।

'पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् । वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ । उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो ।' प्रचण्डले भनेका छन् ।