काठमाडौं - जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

गएराति हिमा गाउँपालिका -१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् । पावर हाउसभित्र सुतिरहेका उनीहरू तीनै जनाकाे घटनास्थलमै मृत्यु भएको हो । गोरकबहादुर भने सोदिन काम विशेषले बाहिर हुँदा ज्यान जोगाउन सफल भए । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार ठूलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा घर भासिएको हो। हाल शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।