काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको बताइएको छ ।

आजको बैठकमा अध्यक्षद्वय  केपी शर्मा ओली ओली र  पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको अलग अलग राजनीतिक प्रतिवेदनमा छलफल हुने कार्यसूची थियो ।

प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए । दुबै प्रस्तावमाथि औपचारिक छलफल सुरु भएको र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने सहमति भएकाे छ । सचिवालय बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने छ ।

बैठक बस्नुअघि पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको थियो । पौडेललाई प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्य लगायतले केक खुवाउँदै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।