निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै
काठमाडौं - निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग आज छलफल गर्दैछ ।
आयोगले बिहिबार ओली र प्रचण्ड-नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र लेखी ओली र प्रचण्ड वा उनीहरुले तोकेका ५/५ जना प्रतिनिधिलाई शुक्रबार बिहान ११ बजे छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।
चुनाव सम्बन्धी छलफलका लागि आयोगले नेकपाका दुवै पक्षलाई बोलाएको हो । अहिलेसम्म निर्वाचन आयोगले चुनावका लागि गरेका क्रियाकलापबारे पनि छलफल हुने बताइएको छ । नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन ।
यसअघि बोलाएको छलफलमा पनि प्रचण्ड-नेपाल पक्षले चुनावका गतिविधि रोक्न आयोगलाई आग्रह गरेको थियो। तर, नेकपाकै ओली पक्षले चुनावका गतिविधि द्रुत गतिमा अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिरहेको छ।
प्रचण्ड-नेपाल पक्षले गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गर्दै सरकारले चुनावको मिति तोकेकाले चुनावको तयारी गर्न आफ्नो दायित्व भएको जवाफ फर्काएको थियो।
फेसबुक पेज Like गर्नुहोस