काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाएर मन्त्री थप गरे विरोधमा उत्रिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहि मन्त्रालय थप गर्ने समाचार बाहिरिरहेका बेला पौडेले यस्तो बताएका हुन् । मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले विरोध जनाए ।

'देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो ।' उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ,'देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी मान्छे भर्ने चलन कम्युनिष्टले चलाएका छन् ।'

सरकारले कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था आइसकेको उनको भनाई छ ।

जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकिरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा उत्रने उनले बताए ।