काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका गच्छदार पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै अदालतमा उपस्थित भएका हुन् । 

विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका उनी बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा आयोगले अदालतमा गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसै प्रकरणमा मुछिएका गच्छदार भौतिक पूर्वाधार मन्त्री हुँदाका सचिव तथा पूर्वअख्तियार प्रमुख दीप बस्न्यातलाई अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थयो ।