काठमाडौं - नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मंगलबार अपरान्हमा नवनियुक्त मन्त्रीहरु सुदन गुरुङ र महावीर पुनले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई शपथग्रहण गराएका हुन् ।

यसअघि ०८२ चैत १३ गते सुधन गृहमन्त्री बनेका थिए । प्रहरीको हिरासतमा रहेका विचौलिया दीपक भट्टसँग सझोदारी गरेको र सम्पत्ति विवरण भर्दा छलछाम गरेको आरोप लागेपछि उनले बैशाख ९ गते गृहमन्त्री पदबाट राजिनामा दिएका थिए । 

त्यसपछि सरकारले उनीमाथि छानविन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति समिति बनाएको थियो । उक्त छानबिन समितिले उनलाई क्लिन चिट दिएको थियो ।

क्लिन चिट पाएसँगै गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काइएको हो ।

यता स्वतन्त्र सांसद महावीर पुन पनि मन्त्री बनेका हुन् । उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवजारी दिइएको हो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै नयाँ मन्त्रालय बनाएको थियो । 

पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका थिए । फागुन २१ को चुनाव अगावै महावीरले राजीनामा दिएर गृहजिल्ला म्याग्दीबाट स्वतन्त्रबाट चुनाव लडेका थिए ।

नवनियुक्त मन्त्रीहरुले आजै नवनियुक्त सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ ।