हामी विजयोन्मुख छौं, केही दिन धैर्य र मर्यादित भएर लागौं : शिक्षक महासंघ
काठमाडौं - नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरुको प्रदर्शनमा सहभागिता बढ्दै गएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘हिजोको सहभागिताले हामीलाई गौरवान्वित गराएको छ । नेतृत्वलाई झन धेरै उर्जा दिएको छ । यसका लागि सबै सहभागी साथीहरुप्रति आभारी छौं । आज पनि ठिक १२ः०० बजे माइतीघर मण्डला पुगौं ।’
उनले आन्दोलन विजयोन्मुख रहेकोले यो घडीमा झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी रहेको बताए ।
‘आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ । हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस् , उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरु पनि थुप्रै छन् । त्यस्ता मान्छे कुन आवरणमा आउँछन् , कुनै ठेगान हुँदैन । त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ । मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ’ उनले भनेका छन् ।
आन्दोलन स्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बन्न पनि आग्रह गरिएको छ । काठमाडौंमा जारी शिक्षक आन्दोलन आज १३औँ दिनमा प्रवेश गरेको छ। शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि आन्दोलन सुरु गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस