दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं - जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।
साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । प्रहरीको साइबर ब्यूरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो भने उनीमाथि मुद्दासमेत दर्ता भएको थियो। प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ।
जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडे पनि उनी रिहा हुने छैनन्। सिआइबीले प्रसाईंमाथि व्यापारीहरूलाई भारतमा मानिस राखेर धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान गरिरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस