काठमाडौं - नेपाल शिक्षक महासंघले आफ्नो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनतासँग रहेको बताएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग रहेको बताएका हुन् ।

उनले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध आन्दोलन जारी रहेको बताए । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध आन्दोलन लक्षित रहेकाले आन्दोलनरत शिक्षकलाई सोहीअनुसार प्रस्तुत हुन महासंघले आग्रह गरेको छ ।

“हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ,” सुवेदीले भने, “अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध छ । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।”

उनले आन्दोलनरत शिक्षकहरूलाई अनुशासित र संयमित व्यवहारसहितको सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । आन्दोलनमा सहभागी हुन आएका शिक्षकलाई आन्दोलनस्थलमा पूरा अवधि (११ देखि २ बजेसम्म) रहन अध्यक्ष सुवेदीको अनुरोध रहेको छ ।