काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा सोमबार भएको कुर्सी तोडफोड कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताएका छन् ।

सोमबार दिउँसो कांग्रेसका सांसदले संसदमा नाराबाजीसहित कुर्सी तोडफोड गरेका थिए । साँझ सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन, 'प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन'

संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति रहेको उनको भनाई छ । 'संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति हो परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो !' उनले भने , 'अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको 'छिटपुट' भनेर छोप्दैन,कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं !'

असोज १६ गते प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो। राजधानीका विषयलाई लिएर कांग्रेस तथा अन्य दलले विरोध जारी राखेका छन्।

सोमबार प्रदेशसभामा होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए ।

प्रदेशसभामा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न शुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशसभाका विभिन्न भौतिक संरचना तोडफोड गरेका थिए । उनीहरु सभामुखलाई घेरा गर्न रोष्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो । सभामा तोडफोड जारी रहँदा मुख्यमन्त्री शङ्कर पोखरेल बैठकबाट बाहिरिएका थिए ।

मुख्यमन्त्री पोखरेललाई आइतबार प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । अपराह्न १ बजे शुरु भएको बैठक २ बजे सरे पनि सहमति नभएपछि ३ बजे शुरु भएको थियो । सभामुख घर्तीले विरोधको अधिकारलाई सम्मान गर्दै प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भनी बैठक शुरु गरेका थिए ।

त्यसअघि सार्वजनिक महत्वका विषयमा प्रदेशसभा सदस्यद्वय अर्याल र सन्तोष पाण्डेलाई समय दिइए पनि उनीहरुले बैठकमा बोलेनन् । बैठक म¬ङ्गलबार बस्ने गरी स्थन भएको छ । राजधानी सार्ने विषयलाई लिएर यहाँ केही दिनदेखि तनाव देखिएको छ ।