रात–दिन काम गर्छु, तीन वर्षमै मन्त्रालयको बलियो जग बसाल्छु : मन्त्री पुन
काठमाडौं - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले विज्ञान तथा प्रविधिको विकासका लागि आफू दिनरात नभनी काम गर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री पुनले परम्परागत ढंगले काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने भन्दै द्रुत गतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
‘यो विज्ञान–प्रविधिको विकासको क्षेत्र हो। ढिलो–ढिलो हिँडेर गन्तव्यमा पुगिँदैन। एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
मन्त्री पुनले आफू लामो समय पदमा बस्ने उद्देश्य नरहेको स्पष्ट गर्दै मन्त्रालयमा संस्थागत सुधार र बलियो आधार निर्माण आफ्नो मुख्य लक्ष्य रहेको बताए।
उनले बढीमा तीन वर्ष मात्र मन्त्रीको जिम्मेवारीमा रहने घोषणा गर्दै त्यस अवधिमा मन्त्रालयलाई सक्षम र प्रभावकारी बनाउने योजना सुनाए।
‘यो सरकार पाँच वर्षको हो। म बढीमा तीन वर्ष बस्ने यहाँ घोषणा गर्छु। तीन वर्षभित्र मन्त्रालयको बलियो जग बसालेर नयाँ पुस्ताका युवा भाइबहिनीलाई जिम्मेवारी हस्तान्तरण गर्ने हो,’ उनले भने।

.gif)



फेसबुक पेज Like गर्नुहोस