काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्माले सांसदहरूलाई दसैं भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले कोरोना महामारी चलिरहेको बेला सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने प्रस्ताव राखेका हुन् । सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेका बिरामीलाई दिने पनि जानकारी दिएका छन् ।

‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं ।’ उनले भनेका छन्, ‘दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’