काठमाडौं - काठमाडौंमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षमा एआई क्यामरा मार्फत ५९ जना संकित पहिचान गरेर पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी गराएका हुन् ।

एसपी भट्टराईले २०८२ भदौ २३ र २४ मा हराएका १८५ हतियार बरामद गरिएको पनि जानकारी गराए ।   उनले भने- 'हामीले आफ्नो सक्रियतामा १८५ हतियार बरामद बरामद गरेका छौँ भने ५२ मानिस पक्राउ गरेका छौँ ।'

यसैगरी कारागारबाट भागेका १७५ कैदी र ९४ जना थुनुवालाई २०८२ साउनदेखि २०८३ असार मसान्तको अवधिमा पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

त्यसैगरी एसपी भट्टराईले गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल पनि तयार पारिएको बताएका छन् ।

प्रवक्ता भट्टराईका अनुसार कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कारबाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको हो ।

यस्तै. आर्थिक वर्ष २०८२/८३ मा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिला पक्राउ परेका छन्। तीमध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत सम्बन्धित देश फिर्ता ९डिपोर्ट० गरिएको छ भने बाँकी १० जनाको डिपोर्ट प्रक्रिया जारी रहेको प्रवक्ता भट्टराईले बताए ।