काठमाडौं - अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई काठमाडौँको तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्कीलाई पक्राउ गरेको हो । 

उनलाई सोमबार झापाको अर्जुनधारा नगरपालिका–२ शान्ति चोकबाट जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङ्थुमका ध्रुवकुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाइदिने र कोकाकोला कम्पनीमा मासिक ३ लाख कमाइ हुने जागिर लगाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको अभियोग छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।