काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए। 

मनोहरा मात्र होइन, काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर नगरपालिकामा पनि डुबान र पहिरोको प्रताडनामा स्थानीयवासी परेका छन्। भौतिक संरचनासँगै स्थानीयवासीले लगाएको तरकारी र धान बालीमा पनि बाढीले क्षति पु-याएको छ।

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार वडा नं. १, २, ३ र ५ मा बाढीले क्षति पु-याएको छ। उनले मनोहरा खोलामा आएको बाढीका कारण पाँचवटा घरटहरा र तीनवटा साना उद्योग बगाएको बताए । उनले भने, “फोहोरमैला व्यवस्थापन गर्ने पाँचवटा गाडी, प्रहरी चौकीको भौतिक संरचनामा क्षति पुगेको छ भने खोला आसपासका कैयौँ पर्खाल बाढीले बगाएको छ। अधिकांश संरचना खोला मिचेर बनाएकै कारण बगेका हुन्।”

कागेश्वरी मनोहरामा बागमती नदीसँगै मनोहरा र महादेव खोलाले किनार क्षेत्र र फाँटमा बनाइएका बस्तीमा क्षति पु-याएको छ। मनोहराका स्थानीय रामजी खड्काले खोलाको बगरमा प्लटिङ गरेका कारण उपल्लो क्षेत्रमा खोला सोझिएको बताए । उनले भने, “मनोहरा खोलाको फाँटमा बाली लगाइन्छ। अहिले पनि धेरै बासिन्दाले धान रोप्नुभएको छ तर १० वर्षयता भूमाफियाले धमाधम प्लटिङ गरेका कारण खोला फाँटभन्दा वरपरका बस्तीमा पुग्न थालेको हो।”

२०४० सालदेखि कागेश्वरी मनोहरा–६ मा बस्दै आएका खड्काले केही वर्षयता मात्रै बाढीले भीषण रूप लिन थालेको बताए । उनले उक्त क्षेत्रमा गरिएको प्लटिङ बगाएर त्यसमाथि खोला कुद्न थालेको बताए । उनले भने, “खोलाले धार फेरेर प्लटिङ बगायो, त्यसमाथि बालुवा भरियो, बगर नजिकका अरू प्लटिङका कारण फेरि बाढीको समस्या सुरु भयो।” 

गोरखापत्र दैनिकबाट