काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मागपत्र बुझाएका हुन् ।

मुलुकको आर्थिक, सामाजिक क्षेत्रको सुधार लगायत विषय समेटेर प्रधानमन्त्री ओलीलाई मागपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

एकीकृत समाजवादीले चैत एक गतेदेखि ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मूल नाराका साथ जारी राखेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।

मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको एकीकृ समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए ।

समग्रमा आगामी वार्षिक नीति तथा कार्यक्रममा आफूहरूले उठाउँदै आएको मुद्दा पनि सम्बोधन हुन सकोस् भनेर ध्यानाकर्षण पत्र बुझाइएको उने बताए ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोशिश गर्ने विश्वास दिलाए ।