काठमाडौं - तीनकुनेमा तीन वटा सवारीसाधन एक आपसमा ठोक्किका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन् । उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए ।

बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरुमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । घाइते चालकको ट्रमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।