काठमाडौं - एमाले सांसद सूर्यबहादुर थापाले दुई बुँदे सहमतिपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विगत ६–७ महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि सहमति जनाएको साता दिन पनि बितेको छैन् ।

तर, यसै सन्दर्भलाई जोडेर प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गरेर थापाले फेस्बुकमा स्टाट्स लेखेका छन् ।

पछिल्लो समय माओवादी केन्द्रका नेता–कार्यकर्ताले नेतृत्वको श्रद्धा गर्नुपर्ने भए पनि श्राद्ध गरिरहेका टिप्पणी गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसाते नै भयो। आफैलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरूम भयो ।’

उनले अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई ‘ब्रोइलर’ कुखुराको संज्ञा दिएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रास्वपाका सांसदहरू संसद् बैठकमा पलेंटी बसेर बसेकाले उनले ‘ब्रोइलर’ कुखुराको संज्ञा दिएका हुन् ।

उनले रास्वपालाई लक्षित गरेर लेखेका छन्, ‘जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबर्जस्तीको परिणाम अन्ततः संझौता गर्दासमेत प्रचण्डकोजस्तो र अझ अघि बढ्दा त झन् रास्वपाको संसद बैठकभित्र जारी पलेंटी कसेजस्तो त हुने रहेछ । एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने बोइलरूहरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर ? त्यसै रत्नपार्क, कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि ?