काठमाडौं - स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो।

आज साँझ ४ बजेतिर काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा आएका उनीहरूको झोला खानतलासी गर्दा स्रोत खुल्न नसकेको उक्त रकम फेला परेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अपीलराज बोहोराले बताए। यसबारे अनुसन्धान भइरहेको उनले बताए।