काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताएका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको  उनले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने ,‘४८ प्रतिशत विद्यार्थी एसईईमा पास हुनु भनेको काफी हो, धेरै हो । ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनुभएको छ ।’

शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

उनले भने ,‘५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभाहरूको भविष्य एसईईमै चट बनाइदिएर, खत्तम पारेको उहाँले मज्जाको कुरा हो भन्नुहुन्छ ।’

आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी बनाएको प्रधानमन्त्रीले बताए ।