काठमाडौं, एजेन्सी - आर्मेनिया र अजरबैजानबीच नागोरोनो–करबाख क्षेत्रका विषयलाई लिएर आइतबार लडाइँ भएको छ। नागोरोनो–करबाखका सेना उपप्रमुख अरतुर सरकिसियानका अनुसार लडाइँमा १६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

मृत्यु हुने र घाइते हुनेमध्ये कति सैनिक थिए, कति सर्वसाधारण थिए भन्ने थाहा हुन सकेको छैन। यसअघि आर्मेनियाका मानवअधिकार लोकपालले संघर्षमा एक महिला र बालकको मृत्यु भएको बताएका थिए। अजरबैजानका राष्ट्रपतिले भने संघर्षमा आफ्नोतर्फको सेनामा नोक्सान भएको जानकारी दिएका छन्।

आर्मेनियाले अजरबैजानको दुई हेलिकोप्टरलाई खसालेको र तीन ट्यान्कमा आक्रमण गरेको दाबी गरेको छ। दाबीको अजरबैजनको रक्षा मन्त्रालयले खण्डन गरेको छ। अजरबैजानको सीमामा रहेका आर्मेनियालीमूलका मानिसको बसोबास रहेको स्थानमा आइतबार बिहानैदेखि लडाइँ सुरु भएको थियो।

१९९४ मा त्यहाँ जातीय युद्ध अन्त्य भएको थियो। त्यसपछि उक्त क्षेत्र आर्मेनिया समर्थित जातिको नियन्त्रणमा रहँदै आएको छ। त्यस क्षेत्रमा आइतबारको लडाइँ किन भयो भन्नेबारे यकिन हुन सकेको छैन। गत जुलाई महिनामा दुई पक्षबीच लडाइँ भएको थियो, त्यसमा १६ जनाको मृत्यु भएको थियो। त्यसपछिको यो ठूलो लडाइँ हो।

नागोरनो–करबाखका अधिकारीहरुका अनुसार अजरबैजानले गरेको बम आक्रमण राजधानी स्टेपनाकर्ट र मार्टाकर्ट तथा मार्टुनीको खाल्टोमा पर्न गएको थियो। अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले टेलिभिजनमा बोल्दै आक्रमणबाट आफ्ना सैनिक र नागरिकलाई नोक्सान परेको बताएका थिए। तर, उनले लडाइँबारे विस्तृत जानकारी दिएनन्। आर्मेनियातर्फ पनि ठूलो नोक्सान भएको उनले बताए।

रुसी विदेश मन्त्री सेर्गेइ लाभारोभले दुई पक्षबीच युद्धविरामका लागि गहन प्रयास गरिरहेको अजरबैजानी रक्षा मन्त्रालयका प्रवक्ता मारिया जखोरोभाले बताइन्। छिमेकी मुलुकमा यो लडाइँको विरोध भइरहेको छ। दुवै पक्षले युद्धविरामको उल्लंघन गरेको आरोप लागिरहेको छ।