झापा - झापामा तीव्र गतिमा रहेको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।

दुर्घटना शुक्रबार दिउँसो गौरीगञ्ज–२ कृष्णखोला नजिक हुलाकी राजमार्गमा भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहम्मद नुर स्लाम र ३५ वर्षीय एनबी मोजाबुल हकको उपचारका क्रममा मृत्यु भएको हो।

प्र।१–०२–००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए।

मोटरसाइकल चालक स्लामको दमक अस्पताल र पछाडि सवार हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि कार चालक विराटनगर महानगरपालिका–१३ निवासी ३५ वर्षीय विवेक सिंहलाई प्रहरीले पक्राउ गरेको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।