काठमाडौं  -  कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक साताका लागि गरेको लकडाउनको आज(बिहीबार) तेस्रो दिन शहर बजार सुनासान छ ।

अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् भने सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिनु परेको जनाएको छ ।

कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गरेका छन् । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने सरकारी तयारी छ ।