युवा संघ महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान
पोखरा - नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतदान हुन लागेको हो ।
प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ । पोखरामा पहिलोपटक युवा संघको महाधिवेशन भएको हो ।
वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी पोखरामा जारी १० औं महाधिवेशनबाट अध्यक्ष बन्ने दौडमा उभिएका छन् ।
थेबेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ भने पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले साथ दिएको छ । मतदाननिम्ति शनिबार राति ४५ वटा विद्युतीय मेसिन ल्याइएको छ । महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी १०औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न शुक्रबार उद्घाटनसत्रमा आग्रह गरेका थिए । सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धा गर्न उनले निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन हुन लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस