काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेब गौतमसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले गौतमसँग आइतबार बिहान १ घण्टा छलफल गरेका थिए। भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ ।

छलफलमा ओलीले गौतमलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्ताव फिर्ता लिन भूमिका खेल्न आग्रह गरेका थिए । जवाफमा गौतमले ओलीलाई सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्दै स्वेच्छाचारी प्रवृत्ति त्याग्न आग्रह गर्दै कार्यशैली सुधार गर्न सुझाएका थिए ।

'पहिला आफ्नो स्वेच्छाचारिता सच्याउनुस्, तपाईं सच्चिएपछि प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिनै पर्दैन।' वामदेवलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विश्‍वमणि सुवेदीले भने, 'सचिवालय बैठकमा छलफल गरौँ सबै समाधान त्यही निस्किन्छ।'

शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रधानमन्त्री ओली पक्षधर नेताहरुले प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने बताउँदै आएका छन्।