काठमाडौं,एजेन्सी-बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमा रहेको खगोलविद्हरुले दावी गरेका छन् ।

सौर्य मण्डलमै सबै भन्दा बढी चन्द्रमामा रहेको दावी गर्दै आएका खगोलविद्हरुले बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा पत्ता लागेसँगै बृहस्पतिमा कुल ९२ चन्द्रमा पत्ता लगाएको जनाएका हुन् । खगोलविद्हरुले यसअघि शनि ग्रहमा ८३ वटा चन्द्रमा पत्ता लगाएकाे बताएका थिए ।

अमेरिकाको हवाई र चिलीमा गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ति नयाँ चन्द्रमा पत्ता लागेको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । नयाँ चन्द्रकोमा आकार ०.६ माइलदेखि दुई माइलसम्मका रहेको जनाइएकाे छ ।

आगामी अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएकाे छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्ने भएकाे छ । खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् ।