काठमाडौं - संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीन राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले अमेरिकाका लागि प्रस्तावित पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

बैठकमा सांसदका प्रश्नहरुको जवाफमा उनीहरुले आफू सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउने, त्यहाँ रहेका नेपालीको हितमा काम गर्ने, विदेशी लगानी भित्र्याउने लगाएतका प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरुले एकअर्का देशबाट उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन्।

सुनुवाइ समितिले अनुमोदन गरेसँगै अब राष्ट्रपतिबाट नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।