काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय निन्दनीय र लज्जास्पद भएको बताएका छन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी सभापति देउवाले यस विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको भन्दै परिक्षण र संक्रमितको उपचार आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय लज्जास्पद भएको बताएका हुन् ।

‘प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तीत बनेका छन् । देशमा सर्वत्र त्रास छ । यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परिक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, उनले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएको उल्लेख गर्दै सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

‘यस निर्णयले सरकार जनताका प्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मीक स्वास्थ सेवावाट बंन्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।’ उनले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नु पर्छ । सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्बोच्च अदालतको पनि अपहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

सभापति देउवाले कोरोनाको परिक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी भएको निर्णय तत्काल खारेज गरी निशर्त, भेदभाव बिना र निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।