कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि ६ उम्मेदवारको नाम
काठमाडौं - सत्ता साझेदार दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार तय गरेकाे छ । सभापति शेरबहादुर देउवाकाे आह्वानमा सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट ६ उम्मेदवारकाे नाम टुंग्याएकाे हो ।
प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।
साेमबार बिहान मात्र बसेकाे सत्तारुढ गठबन्धनकाे बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिट बाँटफाँट गरेकाे थियाे । जसमा कांग्रेसको भागमा ६ सिट, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को भागमा समान ५–५ सिट, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले २ सिट र राष्ट्रिय जनमोर्चाले १ सिट पाउने सहमति भएकाे थियाे ।
फेसबुक पेज Like गर्नुहोस