काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

मंगलबार अपराह्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। 

जसमा सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा अगाडि सारिएको छ।

झण्डै १३ हजार शब्दको प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ। 

पाँच वटा अध्यायमा विभाजित प्रतिबद्धतापत्रको पहिलो अध्यायमा नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण राखिएको छ। त्यस्तै, दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणामुखी प्रशासनबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा आर्थिक सुधारको नयाँ चरण समाजवादका आधार निर्माणबारे विवेचना गरिएको छ। चौथो अध्यायमा शिक्षा, स्वास्थ्य र रोजगारीबारे योजना अघि सारिएको छ।

अन्तिम अध्यायमा समानता, समावेशिता, सामाजिक न्याय र सुरक्षाबारे चर्चा गरिएको छ। सामाजिक न्यायका लागि के के काम गर्ने भन्ने उल्लेख गरिएको छ। नेकपाको प्रतिबद्धता पत्रमा प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुतरूपमा सम्पन्न गर्ने जनाइएको छ। 

नेकपाले शासकीय स्वरूपमा सुधार गर्दै मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गरेको छ।

आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । कृषि क्षेत्रको आधुनिकीकरणका लागि ‘कृषि लगानी दशक’ घोषणा गर्ने, भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने र स्वास्थ्य तथा शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई पार्टीले विशेष प्राथमिकता दिएको छ ।

यस्तै, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, दलित समुदायका लागि विशेषाधिकार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मताधिकारको व्यवस्था मिलाउने समेत प्रतिबद्धतापत्रमा उल्लेख छ ।